काठमाडौं । युद्धविराम कायम रहेकै अवस्थामा अमेरिकाले बुधबार बिहान इरानका विभिन्न सैन्य संरचनामाथि व्यापक हवाई आक्रमण गरेको छ।
अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)का अनुसार हर्मुज जलडमरूमार्फत आवतजावत गर्ने तीन जहाजमाथि भएको आक्रमणको जवाफस्वरूप ८० भन्दा बढी सैन्य अड्डालाई लक्षित गर्दै कारबाही गरिएको हो।
आक्रमणमा इरानको वायु रक्षा प्रणाली, कमाण्ड तथा नियन्त्रण केन्द्र, तटीय राडार, सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली, जहाजविरोधी क्षेप्यास्त्र प्रणाली, ड्रोन प्रक्षेपण स्थल तथा ६० भन्दा बढी सैन्य डुङ्गालाई निशाना बनाइएको सेन्टकमले जनाएको छ।
इरानी सञ्चारमाध्यमका अनुसार सिरिक, केश्म टापु र बन्दर अब्बास क्षेत्रमा शक्तिशाली विस्फोट र आगलागी भएका छन्।
इरानी सेनाले अमेरिकी कारबाहीलाई दुई देशबीच भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको आरोप लगाउँदै यसको उचित जवाफ दिने चेतावनी दिएको छ।