काठमाडौँ।
फिफा विश्वकप २०२६ को पदक तथा ट्रफी वितरण समारोहमा अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्प सहभागी हुने भएका छन्। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आगामी साउन ४ गते न्युजर्सीको इस्ट रदरफोर्डस्थित रंगशालामा हुने फाइनल खेलमा राष्ट्रपति ट्रम्पको सहभागिता रहने आधिकारिक पुष्टि गरेका हुन्।
फक्स न्युजसँगको अन्तर्वार्तामा अध्यक्ष इन्फान्टिनोले आफू र राष्ट्रपति ट्रम्पले संयुक्त रूपमा विजेता टोलीलाई विश्वकप ट्रफी हस्तान्तरण गर्ने जानकारी दिए। यसअघि गत वर्ष सोही रंगशालामा भएको क्लब विश्वकपको फाइनलमा पनि ट्रम्प सहभागी भएका थिए।
यस विश्वकपका धेरैजसो खेलहरू फिफा अध्यक्ष इन्फान्टिनोले रंगशालामै पुगेर हेरिरहेका भए पनि राष्ट्रपति ट्रम्प भने अहिलेसम्म कुनै पनि खेलमा उपस्थित भएका छैनन्। त्यसैले साउन ४ को फाइनल खेलमा उनको उपस्थितिलाई विशेष चासो र आकर्षणका रूपमा हेरिएको छ। न्युजर्सीको प्रतिष्ठित रंगशालामा हुने यो फाइनलले विश्वकपको नयाँ विजेता तय गर्नेछ।