काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा उम्मेदवारहरू आफैँ सरसफाइमा जुटेका छन्। चुनावी प्रचारका क्रममा महाधिवेशनस्थलमा छरिएका पर्चा, पम्प्लेट, भिजिटिङ कार्ड र पानीका बोतलहरू उम्मेदवारहरूले आफैँले संकलन गरी सफा गरेका हुन्।
प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यका उम्मेदवार केपी खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह र सुदीप ढकालसहितका नेता तथा कार्यकर्ताहरूले उद्योग सङ्घको गेट बाहिरको फोहर सफा गरेका थिए। सरसफाइका क्रममा नेता खनालले रास्वपाले राजनीतिक फोहर मात्र नभई आफूले गरेका अन्य फोहर पनि सफा गर्छ भन्ने सन्देश दिन यो कार्य गरिएको बताए।
"हामीलाई भोट हाल्ने जनताले हामीले फोहर गरेको देख्न चाहँदैनन्, हामी फोहर गर्ने होइन, सफा गर्ने मान्छे हौँ," खनालले भने। महाधिवेशनमा सहभागी अन्य प्रतिनिधिहरूले पनि उम्मेदवारहरूको यो कार्यको प्रशंसा गर्दै सरसफाइमा साथ दिएका थिए।