काठमाडौँ।
इजरायलका प्रधानमन्त्री बेंजामिन नेतान्याहूले आफू र अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पबीचको सम्बन्धबारे फैलिएका भ्रमहरू चिर्दै इजरायल एक स्वतन्त्र र सार्वभौम राष्ट्र भएको बताएका छन्। सोमबार जेरुसेलममा आयोजित जेएनएस सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहुले आफूले अमेरिकाका हरेक कुरा नमान्ने र इजरायलको राष्ट्रिय हितलाई सर्वोपरी राख्ने स्पष्ट पारे।
"अमेरिकामा मानिसहरू ट्रम्पले मेरो कुरा मान्छन् भन्छन्, इजरायलमा चाहिँ म ट्रम्पको कुरा मान्छु भन्छन्, तर यी दुवै कुरा सत्य होइनन्," नेतन्याहुले भने। उनले कहिलेकाहीँ दुई देशबीच विचार फरक हुन सक्ने र आफू इजरायलको सुरक्षाका लागि दृढ रहने बताए। हालै ट्रम्प र उपराष्ट्रपति जेडी भान्सले नेतन्याहुको आलोचना गरेपछि उनको यो प्रतिक्रिया आएको हो।
यसै क्रममा नेतन्याहुले इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न नदिने र इजरायली नागरिकको सुरक्षाका लागि आवश्यक परेसम्म सेना दक्षिणी लेबनानमा रहिरहने अडान समेत दोहोर्याए। उनले राष्ट्रिय सुरक्षामा कुनै सम्झौता नगर्ने बताउँदै एकअर्काको सार्वभौमसत्ता र नेतृत्वको सम्मान गर्नुपर्नेमा जोड दिए।