काठमाडौँ ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि पनि सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीहरूलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ। त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै तोकिएको अवधि पूरा नगरी सेवा छाडेकाहरूलाई तत्काल सम्पर्क राख्न आग्रह गरेको हो।
सूचनामा तोकिएको समयभित्र सम्पर्कमा नआए विश्वविद्यालयसँग गरिएको कबुलियतनामा र नियमानुसार कडा कानुनी कारबाही प्रक्रिया अघि बढाइने स्पष्ट पारिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पहलमा सुरु गरिएको यस प्रक्रियाअन्तर्गत हालसम्म सेवामा नफर्किएका ५० जना प्राध्यापकहरूबाट ११ करोड ८४ लाख रुपैयाँभन्दा बढी रकम फिर्ता गराइसकिएको त्रिविले जनाएको छ।
विश्वविद्यालयले दक्ष र अनुसन्धानमुखी जनशक्ति तयार पार्ने उद्देश्यले दिइने बिदाको दुरुपयोग हुँदा आर्थिक र प्राज्ञिक क्षति पुगेको बताएको छ। सम्झौताअनुसारको सेवा दायित्व पूरा नगर्नेहरूबाट बाँकी रकम असुली प्रक्रियालाई निरन्तरता दिइने त्रिविको भनाइ छ।
