काठमाडौँ ।
प्रतिनिधि सभाको आजको बैठकमा विभिन्न मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ। बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका जिज्ञासा र स्पष्टीकरणको जवाफ दिइनेछ।
आज जवाफ दिने मन्त्रालयहरूमा युवा, श्रम तथा रोजगार; उद्योग, वाणिज्य तथा आपूर्ति; कृषि, वन तथा पर्यावरण; सूचना तथा सञ्चार; र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेका छन्। त्यसैगरी स्वास्थ्य तथा खाद्य स्वच्छता; भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन; र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका मन्त्रीहरूले पनि आजै जवाफ दिने कार्यक्रम छ।
गत जेठ १५ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए। सोही बजेटका विभिन्न शीर्षकहरूमाथि हाल संसदमा दफावार छलफल भइरहेको छ। सम्बन्धित मन्त्रीहरूले जवाफ दिएपछि बजेट पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।