काठमाडौँ ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद पर्शुराम तामाङले प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथि कडा आलोचना गर्दै अर्थ मन्त्रालय# र योजना आयोगको पुनर्संरचना गर्न माग गरेका छन्। उनले एमसीसी (MCC) लाई 'नवउपनिवेशवाद' को संज्ञा दिँदै यसका लागि विनियोजित बजेट कटौती गरी १ रुपैयाँ मात्र कायम गर्न संसद्मा प्रस्ताव गरे।
सांसद तामाङले शिक्षा, स्वास्थ्य र बिजुलीमा लगाइएको करलाई 'पश्चगामी' भन्दै यसले गरिब जनताको ढाड सेक्ने बताए। उनले कुल बजेटको ५० प्रतिशत प्रशासनिक खर्चमा जानु अर्थतन्त्रका लागि गम्भीर चुनौती भएको उल्लेख गर्दै वर्तमान बजेटलाई 'नवउदारवादको दोस्रो संस्करण' को संज्ञा दिए।
यसैगरी, उनले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा शून्य बजेट विनियोजन गरिएको र सरकारी सञ्चार माध्यमबाट मातृभाषाका कार्यक्रम कटौती गरिएकोमा सरकारको कडा आलोचना गरे। भौगोलिक सन्तुलन नमिलाइएको र सांसदहरूले सिफारिस गरेका योजनाहरू रातो किताबमा नसमेटिएकोमा समेत उनले आपत्ति जनाएका छन्। उनले शिक्षा र स्वास्थ्य जस्ता मौलिक हकका क्षेत्रमा लगाइएका करहरू तत्काल फिर्ता लिन अर्थमन्त्रीको ध्यानाकर्षण गराए।