काठमाडौँ ।
प्रतिनिधि सभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। संघीय संसद् सचिवालयका अनुसार दुई दिनसम्म चल्ने यस छलफलमा विभिन्न मन्त्रालय र संवैधानिक निकायहरूको बजेटमाथि सांसदहरूले आफ्ना धारणा राख्नेछन्।
असार १ गते युवा, श्रम, उद्योग, कृषि, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, भूमि व्यवस्था, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रलय तथा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शीर्षकहरूमाथि छलफल हुनेछ। त्यस्तै, असार २ गते विज्ञान, कानुन, पूर्वाधार, गृह, ऊर्जा, परराष्ट्र, अर्थ र रक्षा मन्त्रालयका साथै प्रधानमन्त्री कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति र उपराष्ट्रपतिको कार्यालयको बजेटमाथि छलफल हुने कार्यतालिका छ।
मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले असार ३ र ४ गते दिने कार्यक्रम तय गरिएको छ। यस छलफलपछि विनियोजन विधेयक पारित गर्ने प्रक्रिया अघि बढ्नेछ।