काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका नेता डा. धवल शमशेर राणाले वर्तमान बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको विकल्पमा नयाँ पार्टी खोल्ने घोषणा गरेका छन्। आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राणाले वर्तमान सरकारले १०० दिन नपुग्दै धेरै गल्ती गरिसकेको र यसको आयुमाथि देशभर प्रश्न उठेको दाबी गरे।
उनले नयाँ बन्ने पार्टीले 'राजासहितको प्रजातन्त्र' र 'हिन्दु राष्ट्र' को एजेन्डा बोक्ने स्पष्ट पारे। राणाका अनुसार जनताले अब कांग्रेस, एमाले, माओवादी वा राप्रपालाई विकल्पका रूपमा नहेर्ने र आफ्नो नयाँ दलले नै त्यो रिक्तता पूरा गर्नेछ। "बालेन सरकार असफल भयो भने जनताले विकल्प खोज्नेछन् र त्यो विकल्प हाम्रो नयाँ पार्टीले दिनेछ," उनले भने।
मलमास परेका कारण पार्टीको नाम, झण्डा र विस्तृत कार्यक्रम केही समयपछि मात्र सार्वजनिक गरिने उनले जानकारी दिए। साथै, नयाँ पार्टीले आगामी स्थानीय तहको निर्वाचनमा समेत भाग लिने राणाले घोषणा गरेका छन्। उनले राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध गर्दै मुलुकलाई नयाँ दिशा दिने दाबी समेत गरे।