काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलले पार्टी फुटाउन सक्ने गम्भीर आशंका व्यक्त गरेका छन्। पार्टी पुनर्गठन कार्यदलले बागमती प्रदेशका कार्यकर्ताबाट 'वर्तमान नेतृत्वबाट पार्टी पुनःनिर्माण सम्भव नभएको' सुझाव ल्याएपछि ओली आफ्नै निकटस्थ नेताहरूमाथि खनिएका हुन्।
शनिबार आफ्नै निवास गुण्डुमा आयोजित छलफलमा ओलीले पौडेल र पोखरेलले आफूलाई नेतृत्वबाट 'गलहत्याउने' षड्यन्त्र गरिरहेको र त्यसमा सफल नभए पार्टी फुटाउन सक्ने दाबी गरे। उनले उपाध्यक्ष पौडेललाई 'अपराधी र पापी' को संज्ञा दिँदै संकटका बेला नेतृत्वको पक्षमा नबोलेको आरोप लगाए।
ओलीले आफूले नेतृत्व छाड्नुपर्ने गरी कुनै अपराध नगरेको जिकिर गर्दै कालापानी र लिम्पियाधुराको नक्सा ल्याएबापत आफूलाई हटाउन खोज्ने तत्वहरूले नै अहिले एमाले विभाजन गराउन खोजेको बताए। पछिल्लो समय पौडेल र पोखरेल दुवैले पार्टी सचिवालयमा 'पार्टी पुनर्गठन' को विकल्प नरहेको बताउँदै आएका छन्, जसलाई ओलीले आफ्नो विरुद्धको मोर्चाबन्दीका रूपमा लिएका छन्।