काठमाडौँ।
काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा अध्ययन गर्न लिइएको छात्रवृत्ति छनोट परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइतबार सञ्चालित परीक्षामा सहभागी २२ हजार २० विद्यार्थीमध्ये १४ हजार ५७ जना उत्तीर्ण भएका छन्।
महानगरको छात्रवृत्ति परीक्षा समितिले न्यूनतम ४० अङ्क प्राप्त गर्ने विद्यार्थीहरूको प्रारम्भिक योग्यता क्रमसहितको नतिजा प्रकाशन गरेको हो। परीक्षामा उच्चतम ९२ अङ्क प्राप्त गरी एक जना विद्यार्थी पहिलो भएका छन् भने ९१ अङ्क ल्याउने एक जना र ९० अङ्क ल्याउने पाँच जना रहेका छन्। विद्यार्थीहरूले अनलाइन पोर्टलमा आफ्नो रोल नम्बर, जन्म मिति र पासवर्ड राखेर नतिजा हेर्न सक्नेछन्।
शिक्षा अधिकारी नमराज ढकालका अनुसार यो प्रारम्भिक नतिजा हो। नतिजामा चित्त नबुझेमा एक हजार रुपैयाँ राजस्व तिरेर जेठ २० गतेभित्र पुनर्योगका लागि शिक्षा विभागमा निवेदन दिन सकिने व्यवस्था गरिएको छ। महानगरभित्रका संस्थागत शिक्षण संस्थाहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्नका लागि ८३ वटा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। कुल २६ हजार ६०३ जनाको आवेदन स्वीकृत भएकोमा २२ हजार २० जना परीक्षामा सहभागी भएका थिए।