काठमाडौँ।
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले इरानसँगको युद्धविराम लम्ब्याउने ढाँचाबारे छलफल गर्न आफ्ना मुख्य सल्लाहकारहरूसँग आयोजना गरेको बैठक निष्कर्षविहीन भएको छ। ह्वाइटहाउसको विशेष सुरक्षित 'सिचुएसन रुम' मा शुक्रबार भएको उक्त बैठकमा वासिङ्टनको अन्तिम धारणा तय गर्ने प्रयास गरिए पनि कुनै ठोस निर्णय हुन सकेन।
बैठकमा राष्ट्रपति ट्रम्पले इरानसँगको सम्झौताका लागि आफ्ना पुराना सर्तहरू पुनः अघि सारेका छन्। उनका सर्तहरूमा इरानले कहिल्यै परमाणु बम राख्न नपाउने, हर्मुज जलमार्गमा बिना अवरोध दुईतर्फी पारवहन सुनिश्चित गर्नुपर्ने र त्यहाँ राखिएका सम्पूर्ण खानीहरू नष्ट गर्नुपर्ने रहेका छन्।
यसअघि अमेरिकी अधिकारीहरूले दुवै देश प्रारम्भिक सम्झौताको ढाँचामा सहमत भइसकेको दाबी गरे पनि इरानले भने परमाणु कार्यक्रमबारे कुनै वार्ता भइरहेको कुरालाई अस्वीकार गर्दै आएको छ। तेहरानले आफ्नो परमाणु कार्यक्रम पूर्णतः नागरिक र शान्तिपूर्ण उद्देश्यका लागि मात्र भएको दाबी गर्दै आएको छ। दुवै पक्षको विरोधाभासी अडानका कारण युद्धविरामको प्रयास अझै अन्योलमा देखिएको छ।