काठमाडौँ।
मुस्ताङ जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका–२ माथिल्लो बैसरी (सिरुवारी) मा पहिरो खसेपछि आज बिहानैदेखि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ। ७६ किलोमिटर दूरीको यो सडकखण्डमा पहिरोका कारण सिधा यातायात सम्पर्क विच्छेद भएको हो।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार सडक विभाग र बेनी–जोमसोम–कोरला सडक योजनासँग समन्वय गरी पहिरो पन्छाउन उपकरणहरू परिचालन गरिएको छ। सडक अवरुद्ध हुँदा मुस्ताङ भ्रमणमा जाने पर्यटक, मुक्तिनाथका तीर्थयात्री र स्थानीय बासिन्दाहरू बीच बाटोमै अलपत्र परेका छन्।
सिरुवारी क्षेत्रमा सामान्य वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्या दोहोरिने गरेको छ, जसले गर्दा यो सडकखण्डमा नियमित यातायात सञ्चालन गर्न मुख्य चुनौती खडा भएको छ। प्रहरीले सडक नखुलेसम्म धैर्य गर्न र वैकल्पिक सतर्कता अपनाउन आग्रह गरेको छ।