काठमाडौँ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४५३ जना सवारी चालकलाई कारबाही गरेको छ। यस कारबाहीबाट ११ लाख ५१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।
कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारबाहीमा पर्नेहरूमा मादक पदार्थ सेवन (मापसे) गर्ने १०५, राइड सेयरिङका २३८, रातोबत्ती उल्लङ्घन गर्ने १८४ र तीव्र गतिमा सवारी चलाउने १८६ जना रहेका छन्। यस्तै, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ११९, एकतर्फी सडकमा सवारी चलाउने १३९ र फुटपाथमा सवारी पार्किङ वा चलाउने १०० जनालाई पनि कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सवारी चालकले मादक पदार्थ वा लागुपदार्थ सेवन गरेको शङ्का लागेमा तत्काल ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन १०० मा खबर गर्न यात्रुहरूलाई आग्रह गरेको छ। उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त बनाउन प्रहरीले चेकिङमा कडाइ गर्दै आएको छ।