काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ कालिका भित्री सडकखण्डमा सोमबार बिहान स्कार्पियो र सिटी सफारी एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा मेचीनगर–१५ की करिब ४० वर्षीया आरती उराउ रहेकी छन्।
काकडभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको प्रदेश १–०१–००२ ह ७८०५ नम्बरको सिटी सफारी र विपरीत दिशाबाट आउँदै गरेको डिभिजन वन कार्यालय झापाको बागमती प्रदेश ०१–००२ झ ७३६० नम्बरको स्कार्पियो बिहान १०:४५ बजे एकापसमा ठोक्किएका थिए। दुर्घटनामा गम्भीर घाइते भएकी उराउको प्रादेशिक अस्पताल भद्रपुरमा उपचारका क्रममा ११:१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै गाडीसहित फरार भएका स्कार्पियो चालक ५४ वर्षीय लिला श्रेष्ठलाई प्रहरीले मेचीनगर–४ बाहुनडाँगीबाट नियन्त्रणमा लिएको छ। सिटी सफारी चालक ४५ वर्षीय गम्भीर प्रसाद बातर र दुवै सवारीसाधन अहिले प्रहरीको नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।