काठमाडौँ
पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले जननेता मदन भण्डारीलाई सामान्य राजनीतिक नेताभन्दा पनि विचार निर्माण गर्ने नेताको रूपमा स्मरण गरेकी छिन्। काठमाडौँमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा उनले मदन भण्डारीको राजनीतिक र वैचारिक योगदानबारे चर्चा गरिन्।
उनले मदन भण्डारीलाई राजनीतिक आन्दोलनलाई सैद्धान्तिक आधार प्रदान गर्ने चिन्तक, विचारक तथा जनआकाङ्क्षालाई राजनीतिक कार्यक्रमसँग जोड्ने कुशल नेतृत्वकर्ताको रूपमा चित्रण गरिन्। सञ्चार, जनमत र विचारको प्रभावबारे उनको बुझाइ आज पनि सान्दर्भिक रहेको भण्डारीले उल्लेख गरिन्।
पूर्वराष्ट्रपति भण्डारीले लोकतन्त्र, राजनीतिक नैतिकता, सुशासन, सामाजिक न्याय र राष्ट्रिय एकतासम्बन्धी विषयहरू अहिले पनि महत्त्वपूर्ण रहेको बताउँदै मदन भण्डारीका विचारहरूको अध्ययन र समयानुकूल प्रयोग आवश्यक रहेको धारणा राखिन्।
उनले मदन भण्डारीका विचारको गहिरो अध्ययन, व्यापक बहस र समयानुकूल विकास तथा प्रयोग गर्नु युवा पुस्ताको महत्वपूर्ण जिम्मेवारी भएको पनि बताइन्।