काठमाडौँ
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा साक्षरता नभएका सेवाग्राहीलाई प्राथमिकता दिँदै विशेष काउण्टरमार्फत सहज सेवा उपलब्ध गराउन निर्देशन दिएको छ।
केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै यस्तो व्यवस्था लागू गर्न भनेको हो। निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा कम्तीमा एक शाखा अपाङ्गमैत्री बनाउनुपर्ने र त्यस्ता शाखाको विवरण वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ।
त्यसैगरी, एटिएम लाउञ्ज भएका स्थानमा ब्रेल लिपि र ध्वनि सहयोगसहित कम्तीमा एक अपाङ्गमैत्री एटिएम राख्नुपर्ने व्यवस्था गरिएको छ। मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ लगायत सेवामा पनि अपाङ्गता भएका व्यक्तिले स्वघोषणा गरेपछि सहज पहुँच दिनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ।
राष्ट्र बैंकले बैंकहरूको वेबसाइट र मोबाइल एपलाई दृष्टिविहीनमैत्री बनाउनुपर्ने तथा डेबिट र क्रेडिट कार्डमा समेत दृष्टिविहीनमैत्री प्रविधि समावेश गर्नुपर्ने निर्देशन दिएको छ। साथै, कर्मचारीलाई अतिरिक्त समय काममा बाध्य पार्न नपाइने र काम गरेमा अनिवार्य रूपमा अतिरिक्त पारिश्रमिक दिनुपर्ने व्यवस्था पनि निर्देशनमा उल्लेख छ।