काठमाडौँ
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई अतिरिक्त समय काम गर्न बाध्य बनाउन नपाइने व्यवस्था गरेको छ। राष्ट्र बैंकले एकीकृत निर्देशनमा नयाँ व्यवस्था थप गर्दै कर्मचारीको श्रम अधिकार संरक्षणमा जोड दिएको हो।
नयाँ व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले कर्मचारीलाई नियमित कार्यसमयभन्दा बढी समय काम गर्न दबाब दिन पाउने छैनन्। यदि कुनै कर्मचारी स्वेच्छाले अतिरिक्त समय काम गर्न तयार भएमा त्यसबापत अतिरिक्त पारिश्रमिक अर्थात् ‘ओभरटाइम (ओटी)’ सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई श्रमसम्बन्धी कानुन तथा कर्मचारी व्यवस्थापनसम्बन्धी निर्देशन पूर्ण रूपमा पालना गर्न समेत निर्देशन दिएको छ। यो व्यवस्थाले बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूको काम गर्ने वातावरण र श्रम अधिकारलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।