काठमाडौँ
नेपाल–चीन परियोजना सहजीकरण संयन्त्रको तेस्रो बैठक आगामी जुन २०२६ मा नेपालमा बस्ने भएको छ। सन् २०१८ मा दुई देशबीच भएको समझदारीअनुसार नियमित रूपमा बस्दै आएको यो बैठकले विकास परियोजनाको कार्यान्वयन र प्रगति समीक्षा गर्नेछ।
बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव अमृतबहादुर राईले गर्नेछन् भने चिनियाँ पक्षको सह–अध्यक्षता नेपालका लागि चिनियाँ राजदूतले गर्नेछन्। बैठकमा चीनको सहयोगमा नेपालमा सञ्चालित विभिन्न परियोजनाको कार्यान्वयन अवस्था र प्रभावकारिताबारे छलफल हुने जनाइएको छ।
यसैबीच, दक्षिण–पूर्वी एसियाका विभिन्न देशमा अवैध अनलाइन स्क्यामिङ सेन्टरमा बन्धक बनाइएका नेपालीहरूको उद्धार कार्य पनि तीव्र पारिएको छ। पछिल्लो दुई सातामा थप ७१ जनाको उद्धार गरिएको छ भने हालसम्म कुल ६०० भन्दा बढी नेपालीलाई सुरक्षित रूपमा स्वदेश फर्काइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।