मुस्ताङ, ८ जेठ I
छुसाङ–पाताङ्ग्या पदमार्ग स्तरोन्नति गरिँदैछ । उपल्लो मुस्ताङ भ्रमण गर्न जाने विदेशी पर्यटकको सहज पदयात्राका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले यहाँका पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति सुरु गरेको हो ।
एक्याप लोमान्थाङ र एक्याप जोमसोम कार्यक्षेत्र भित्र रहेका स्थानीय संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी)ले बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ छुसाङदेखि लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ ताङ्ग्यासम्मको पर्यटकीय पदमार्गको मर्मत तथा स्तरोन्नति गरिरहेको हो ।
झण्डै नौ घण्टा पैदल दूरीको यस पर्यटकीय पदमार्गको मर्मत सुधारका लागि एक्यापअन्तर्गतका छुसाङ समिति र सुर्खाङ संरक्षण क्षेत्र व्यवस्थापन समितिले अलगअलग खण्डमा वैशाख १५ देखि काम थालेका हुन्। एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार घरेलु औजारसहित स्थानीय जनशक्ति परिचालन गरी सुरु गरिएको यो कार्य आगामी दुई साताभित्र सम्पन्न हुनेछ। बर्सेनि भेलबाढी र पहिरोका कारण भत्किने यस मार्गका कतिपय स्थानमा ग्याबियन पर्खाल र दुई स्थानमा काठेपुलसमेत निर्माण गरिँदैछ। यसैगरी, लोघेकर दामोदरकुण्ड गाउँपालिकाले पनि राष्ट्रिय रोजगार कार्यक्रमअन्तर्गत ध्ये खोलादेखि त्याङ्ग्यासम्मको पदमार्ग मर्मत गराएको गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले जानकारी दिनुभयो ।