भैरहवा । विश्व
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीनेपालको सबैभन्दा परिचित
अन्तरराष्ट्रिय पर्यटनस्थल हो । विश्व सम्पदा सूचीमा सूचीकृत पवित्र भूमि हरेक
वर्ष स्वदेशी तथा विदेशी गरी वार्षिक रूपमा करिब १५ लाखभन्दा बढी पर्यटक आउने
गरेका छन् । ठूलो संख्यामा पर्यटक आउँदा पनि अधिकांशले लुम्बिनीमा एक रातसमेत
बिताउँदैनन् । केही घण्टामात्र भ्रमण गरी फर्किने प्रवृत्तिले यहाँको पर्यटनबाट
अर्थतन्त्रले अपेक्षित लाभ लिन सकेको छैन ।
विशेषगरी भारतबाट आउने
धार्मिक पर्यटक बुद्ध जन्मस्थलको दर्शन गरेर केही घण्टामै स्वदेश फर्किन्छन् ।
नेपालका अन्य भागबाट आउने पर्यटकको अवस्था पनि उस्तै छ । उनीहरू मायादेवी मन्दिर र
आसपासका केही क्षेत्र घुमेपछि अर्को गन्तव्यतर्फ लाग्छन् । यसले लुम्बिनीलाई केवल
‘दर्शनस्थल’मा सीमित बनाएको छ । ‘बसाइ र अनुभव गर्ने गन्तव्य’का रूपमा विकास गर्न
अझै चुनौती देखिएको छ ।
पर्यटनविद्हरूका
अनुसार लुम्बिनीमा पर्यटकको बसाइ अवधि बढाउन सकिए यस क्षेत्रको होटल, रेष्टुरेन्ट, यातायात,
हस्तकला, कृषि, सांस्कृतिक
कार्यक्रम र स्थानीय रोजगारीमा ठूलो आर्थिक प्रभाव पर्न सक्छ । त्यसका लागि बुद्ध
जन्मस्थलसँगै आसपासका धार्मिक, सांस्कृतिक, प्राकृतिक र ग्रामीण पर्यटन गन्तव्यलाई एउटै पर्यटन पथमा जोड्नुपर्ने
आवश्यकता औँल्याइएको छ ।
लुम्बिनी होटल संघका
अध्यक्ष लीलामणि शर्माका अनुसार लुम्बिनी नेपालको सबैभन्दा ठूलो अन्तरराष्ट्रिय
पर्यटन ब्रान्ड हो । ‘हामीले
बुटवल, भैरहवा वा अन्य सहरलाई अलग–अलग रूपमा होइन, ‘लुम्बिनी’को ब्रान्डलाई केन्द्रमा राखेर पर्यटन प्रवृधन गर्नुपर्छ,’
उनले भने । उनका अनुसार अन्तरराष्ट्रिय बजारमा एउटै पहिचान बनाएर
अघि बढ्न सके गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनदेखि पर्यटक आगमन
बढाउनसमेत सहज हुनेछ ।
लुम्बिनी बौद्ध
विश्वविद्यालय केन्द्रीय क्याम्पसका प्रमुख दयानिधि शर्माले लुम्बिनी धार्मिक
तीर्थस्थलमात्र नभई विश्व बौद्ध दर्शन, शान्ति, अहिंसा र मानव सभ्यताको अध्ययन, अनुसन्धान केन्द्रका रूपमा विकास हुनुपर्ने बताए ।
उनका अनुसार शिक्षा, अनुसन्धान, ध्यान,
संस्कृति र पर्यटनलाई एउटै अवधारणामा जोड्न सके लुम्बिनीको
अन्तरराष्ट्रिय महत्व अझ उचाइमा पुग्नेछ ।
लुम्बिनी विकास कोषका
सदस्यसचिव ज्ञानीन राईले लुम्बिनीलाई विश्वस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास
गर्न सरकार, निजी क्षेत्र,
स्थानीय समुदाय र अन्तरराष्ट्रिय साझेदारबीच समन्वित प्रयास
अपरिहार्य रहेको बताए । उनले पूर्वाधार विस्तारसँगै गुणस्तरीय पर्यटन सेवा,
अन्तरराष्ट्रिय प्रचारप्रसार र नयाँ पर्यटन उत्पादन विकासमा जोड
दिनुपर्ने धारणा राखे ।
पछिल्ला वर्षमा
लुम्बिनी क्षेत्रमा चार र पाँचतारे होटल, रिसोर्ट तथा अन्य पर्यटकीय पूर्वाधारमा उल्लेख्य लगानी भएको छ । तर
पर्यटकको बसाइ अवधि छोटो भएकाले ती लगानीले अपेक्षित प्रतिफल पाउन सकेका छैनन् ।
पर्यटन व्यवसायी अहिलेको सबैभन्दा ठूलो आवश्यकता नयाँ होटल निर्माणभन्दा पनि
पर्यटकलाई लुम्बिनीमा एक वा दुई रात बस्न प्रेरित गर्ने पर्यटन क्षेत्रको विकास
गर्नु रहेको बताउँछन् ।
यसै उद्देश्यले निजी
क्षेत्रले भारतका बनारस, बोधगया,
दिल्ली र लखनउका ट्राभल एन्ड टुर अपरेटरसँग प्रत्यक्ष सहकार्य सुरु
गरेको छ । लुम्बिनी-बनारस बीटुबी ट्राभल मार्ट तथा फ्याम
ट्रिपमार्फत धार्मिक र सांस्कृतिक पर्यटनको साझा बजार विस्तार गर्ने प्रयास गरिएको
छ । व्यवसायीहरूका अनुसार यस्ता कार्यक्रमले अन्तरराष्ट्रिय बजारमा लुम्बिनीको
पहुँच विस्तार गर्न सहयोग पुग्नेछ ।
पर्यटन क्षेत्रका
जानकारहरु लुम्बिनीको विकास अब केवल बुद्ध जन्मस्थलको संरक्षणमा मात्र सीमित नराखी
‘ग्रेटर लुम्बिनी’ अवधारणाअनुसार तिलौराकोट, देवदह, रामग्राम, गौतमबुद्ध
अन्तरराष्ट्रिय विमानस्थल, सांस्कृतिक गाउँ, ध्यान केन्द्र, ग्रामीण पर्यटन र स्थानीय उत्पादनलाई
एउटै पर्यटन सञ्जालमा जोड्नुपर्ने सुझाव दिन्छन् ।
लुम्बिनीमा पर्यटक
ल्याउनुमात्र सफलता होइन, उनीहरूलाई
केही दिन बस्न बाध्य बनाउने वातावरण सृजना गर्नु नै अबको सबैभन्दा ठूलो चुनौती
रहेको उनीहरुको भनाइ छ ।
विश्वले बुद्ध
जन्मस्थललाई चिनेको हुँदा लुम्बिनीलाई अनुभव गर्ने गन्तव्यका रूपमा स्थापित गर्न
सकेमा पर्यटनले दीर्घकालीन आर्थिक समृद्धिको आधार तयार गर्ने विश्वास गरिएको छ ।