चिटिक्क परेको टर्मिनल, अर्बौँको लगानी : तर किन सन्नाटामा छ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल ?

Author

सजिलो पत्रिका

२०८३ असार २४, बुधबार

6
Share
Featured

रुपन्देही । विमानस्थलको अन्तरराष्ट्रिय टर्मिनल चिटिक्क परेको छ । अत्याधुनिक भवन, चम्किला काउन्टर, एक्स-रे मेसिन, अध्यागमन डेस्क, प्रस्थान कक्ष र धावनमार्ग सबै तयारी अवस्थामा छन् तर यात्रुहरुको भीड छैन । कहिलेकाहीँ चार्टर उडान आउँछ, केही यात्रु ओर्लिन्छन् र फेरि तिनै उक्त विमानमा चढेर फर्किन्छन् अनि फेरि विमानस्थल पहिलेकै सन्नाटामा फर्किन्छ ।

चार वर्षअघि नेपालकै दोस्रो अन्तरराष्ट्रिय विमानस्थलका रुपमा ठूलो उत्साहका साथ सञ्चालनमा आएको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल आज पनि नियमित अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा छ । अर्बौं रुपैयाँको लगानी, आधुनिक पूर्वाधार र सरकारले दिएको आकर्षक सहुलियतका बाबजुद विमानस्थलले अपेक्षित गति लिन सकेको छैन ।

विमानस्थल प्रशासन, निजी क्षेत्र र पर्यटन व्यवसायीसँग गरिएको कुराकानीले एउटा साझा निष्कर्ष देखाउँछ । समस्या धावनमार्ग वा भवनको होइन, नीति, बजार व्यवस्थापन र निर्णय क्षमताको हो । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक श्यामकिशोर साहका अनुसार पछिल्लोपटक थाई एयर एसियाले बैंकक-भैरहवा-बैंकक रुटमा हप्ताको दुई दिन नियमित उडान सञ्चालन गरेको थियो तर त्यो मार्चसम्मको ‘विन्टर सिड्युल’सम्म मात्र सीमित रह्यो । अहिले ‘समर सिड्युल’ सुरु भइसकेकाले अक्टोबरसम्म कुनै नियमित अन्तरराष्ट्रिय उडान छैन । बीचबीचमा चार्टर उडान भने भइरहेका छन् ।

साहका अनुसार वायुसेवा कम्पनीले नियमित सेवा बन्द गर्नुको मुख्य कारण यात्रु अभावलाई देखाएका छन् । जहाज आउँछ तर अपेक्षित ‘अकुपेन्सी’ हुँदैन । जानेबेला केही यात्रु भए पनि फर्कंदा जहाज खाली जस्तै हुन्छ । व्यावसायिक कम्पनीले नाफा हेर्ने भएकाले यस्तो अवस्थामा नियमित उडान टिकाउन कठिन हुन्छ,’ उनी भन्छन् । तर उनी यात्रु नै नभएको निष्कर्षसँग पूर्ण रुपमा सहमत छैनन् । लुम्बिनी प्रदेश मात्रै होइन, मधेस, कोशी, सुदूरपश्चिमलगायत विभिन्न प्रदेशबाट विगतमा यात्रु भैरहवा आउँथे । यात्रुको सम्भावना छ । समस्या यात्रु व्यवस्थापनमा भयो,’ उनको भनाइ छ ।

साहका अनुसार अन्तरराष्ट्रिय उडान सफल बनाउन एयरलाइन्स मात्र पर्याप्त हुँदैनन् । यात्रुलाई जहाजसम्म पुर्‍याउने सम्पूर्ण प्रणाली सक्रिय हुनुपर्छ । वैदेशिक रोजगारीमा जाने श्रमिक पठाउने म्यानपावर कम्पनी, टिकट बिक्री गर्ने ट्राभल एजेन्सी र जनरल सेल्स एजेन्ट (जिएसए) सबैले मिलेर काम गर्नुपर्थ्यो । त्यो हुन सकेन,’ उनले भने । उनका अनुसार कतिपय विदेशी वायुसेवा कम्पनी भैरहवामा उड्न इच्छुक भए पनि उनीहरुको नेपालस्थित जनरल सेल्स एजेन्ट काठमाडौंमै केन्द्रित छन् । उनीहरुको सम्पूर्ण व्यापारिक संरचना राजधानीमै भएकाले उनीहरुले यात्रुलाई पनि काठमाडौंबाटै उडाउन बढी जोड दिने गरेका छन् । काठमाडौंका जिएसएले स्थानीय ट्राभल एजेन्सीसँग पर्याप्त सहकार्य गरेनन् । भाडामा केही सहुलियत दिने, टिकट सहज उपलब्ध गराउने वा संयुक्त रुपमा बजार प्रवर्धन गर्ने काम हुन सकेन । त्यसैले जहाजमा यात्रु भर्न कठिन भयो,’ साहले बताए ।

उनका अनुसार विमानस्थल सञ्चालनमा पूर्वाधारभन्दा ठूलो चुनौती अहिले यही बजार संरचना बनेको छ । साहको अर्को प्रश्न आफ्नै राष्ट्रिय ध्वजावाहकप्रति छ । नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सले भैरहवाबाट नियमित अन्तरराष्ट्रिय उडान सुरु गरेको भए विदेशी वायुसेवा कम्पनीलाई पनि सकारात्मक सन्देश जाने थियो । नेपाली ध्वजावाहकले नै यहाँबाट उडान सुरु गरेको भए वातावरण बन्ने थियो कि ? त्यसपछि विदेशी कम्पनी आउन पनि सहज हुन्थ्यो,’ उनी भन्छन् ।

भैरहवाको भविष्य भारतसँग जोडिएका विषयमा पनि साह स्पष्ट देखिन्छन् । भारतीय वायुसेवा कम्पनीले दिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोरलगायत विभिन्न सहरबाट भैरहवामा सहजै उडान गर्न सक्छन् । त्यसले भारतीय पर्यटक र बौद्ध तीर्थयात्रीको संखया उल्लेख्य रुपमा बढाउन सक्नेछ तर यसका लागि सरकारी तहबाट आवश्यक पहल हुन नसकेको उनको गुनासो छ । नेपाल र भारतबीचको एयर सर्भिस एग्रिमेन्ट धेरै पुरानो भएकाले त्यसमा गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल समेटिएको छैन ।

नयाँ यथार्थअनुसार उक्त सम्झौता पुनरावलोकन गर्नुपर्ने आवश्यकता उनी औँल्याउँछन् । भारतीय एयरलाइन्सले अहिले काठमाडौंमा दैनिक धेरै उडान गरिरहेका छन् । उनीहरुलाई भैरहवाबाट पनि उडान गर्न सरकारी तहबाट औपचारिक पहल हुनुपर्छ,’ उनको भनाइ छ ।

सरकारले भैरहवाबाट अन्तरराष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीलाई आकर्षित गर्न विभिन्न आर्थिक सहुलियत उपलब्ध गराउँदै आएको छ । ल्यान्डिङ शुल्क, नेभिगेसन शुल्क र यात्रु सेवा शुल्कमा शतप्रतिशत छुट, ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट तथा काठमाडौंको तुलनामा हवाई इन्धनमा पनि उल्लेखनीय सहुलियत दिइएको छ । यात्रु कम हुँदा एयरलाइन्सलाई हुने आर्थिक क्षति केही हदसम्म यी छुटले पूर्ति गर्ने उद्देश्य राखिएको हो तर उनको निष्कर्ष स्पष्ट छ, ‘सहुलियतले मात्र पर्याप्त हुँदैन । यात्रु व्यवस्थापन र टिकट बजारको संरचना सुधारिएन भने छुटले मात्र नियमित उडान टिकाउन सक्दैन ।

विमानस्थलको अन्तरराष्ट्रिय हवाई यातायात तथ्यांकले पनि उतारचढाव देखाउँछ । सन् २०२२ देखि सन् २०२६ को मे महिनासम्म अन्तरराष्ट्रियतर्फ एक हजार २१८ विमान आवागमन भएका छन् भने ६९ हजार ३१६ यात्रुले सेवा लिएका छन् । सन् २०२३ मा यात्रु संखया चार हजार ७५१ मा झरेको थियो । सन् २०२५ मा यो संख्या बढेर १९ हजार ५९० पुगे पनि अन्तरराष्ट्रिय विमानस्थलको क्षमताअनुसार यो अझै न्यून मानिन्छ । चालु वर्षको मे महिनासम्म चार हजार १५३ यात्रुले मात्र सेवा लिएका छन् ।

भैरहवा विमानस्थलको अर्को विशेषता यहाँ जडान गरिएको इन्स्ट्रमेन्ट ल्याण्डिङ सिस्टम (आइएलएस) हो । साहका अनुसार कम दृश्यता भएका दिनमा पनि सुरक्षित अवतरण गर्न सहयोग गर्ने यो प्रणाली नेपालका लागि महत्वपूर्ण सम्पत्ति हो । अझ रोचक कुरा, यस्तो सुविधा काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपलब्ध छैन तर यसको ‘सेकेन्डरी प्रोटेक्सन जोन’को करिब १.३ किलोमिटर भाग भारतीय भूभागमा पर्ने भएकाले भारतसँग आवश्यक सहमति हुन बाँकी छ । यस विषयमा पहिले पत्राचार भए पनि त्यसपछि दुवै पक्षबाट पर्याप्त ‘फलोअप’ नभएको उनी स्वीकार गर्छन् । अहिलेसम्म सञ्चालन भएका अन्तरराष्ट्रिय उडानमा यसले कुनै प्रत्यक्ष समस्या सिर्जना गरेको छैन ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आएको चार वर्ष बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसक्नुले निजी क्षेत्रलाई पनि उत्तिकै निराश बनाएको छ । तर निजी क्षेत्रका प्रतिनिधिको बुझाइमा यसको मूल समस्या यात्रुको अभावभन्दा धेरै गहिरो छ । उनीहरुका अनुसार सरकारको नीतिगत अन्योल, काठमाडौं केन्द्रित हवाई बजार, भारतसँगको अपर्याप्त कूटनीतिक पहल र कमजोर समन्वयका कारण विमानस्थलले आफ्नो वास्तविक सम्भावना उपयोग गर्न सकेको छैन ।

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स ९नाट्टा० लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा ढिलाइ हुनुमा सरकारको नीतिगत कमजोरीलाई मुख्य कारण मान्छन् । उनका अनुसार चार वर्षदेखि सरकारले ‘विमानस्थल चल्छ’ भन्ने आश्वासन मात्रै दिइरहेको छ । अब आश्वासन होइन, ठोस निर्णय आवश्यक छ । उनी भन्छन्, ‘काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा दैनिक अत्यधिक हवाई चाप छ । जहाजहरु अवतरणका लागि लामो समय आकाशमा होल्ड भइरहेका छन् । यस्तो अवस्थामा दोस्रो अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा प्रयोग गर्ने नीति सरकारले तत्काल ल्याउनुपर्छ ।

थापाको सुझाव छ, ‘सरकारले हवाई नीतिमा संशोधन गरेर अन्तरराष्ट्रिय उडानको स्पष्ट वर्गीकरण गर्नुपर्छ । ‘फुल-सर्भिस क्यारियर’ र ठूला वाइडबडी विमान काठमाडौंमा केन्द्रित रहन सक्छन् भने बुद्ध सर्किट, धार्मिक पर्यटन र क्षेत्रीय बजार लक्षित बजेट एयरलाइन्स तथा न्यारोबडी जहाजलाई भैरहवामा अवतरण गर्न प्रोत्साहन मात्र होइन, आवश्यक परे नीतिगत व्यवस्था गर्नुपर्छ ।

सरकारले सबै अन्तरराष्ट्रिय उडान काठमाडौंमै केन्द्रित हुने वर्तमान अवस्था परिवर्तन नगरेसम्म गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलले अपेक्षित गति लिन नसक्ने उनको ठम्याइ छ । नेपालमा सञ्चालनमा रहेका अधिकांश अन्तरराष्ट्रिय एयरलाइन्सका एजेन्ट काठमाडौंका सीमित व्यवसायीको नियन्त्रणमा रहेको उनको दाबी छ । टिकट बिक्री, बजार व्यवस्थापन, प्रचारप्रसार र यात्रु वितरणको सम्पूर्ण अधिकार केही कम्पनीमा केन्द्रित हुँदा भैरहवा र पोखराजस्ता नयाँ अन्तरराष्ट्रिय विमानस्थलले प्रतिस्पर्धा गर्ने अवसर नै पाएका छैनन् ।

काठमाडौंका जिएसएले आफ्नै व्यापारिक हितअनुसार जहाजको बजार व्यवस्थापन गर्छन् । स्थानीय ट्राभल एजेन्सीलाई पर्याप्त सहयोग, सहुलियत वा टिकटको समान पहुँच दिइँदैन,’ थापा भन्छन् । उनको प्रस्ताव छ- भैरहवा र पोखराका लागि स्थानीयस्तरका जिएसए नियुक्त गर्ने नीति सरकारले ल्याउनुपर्छ । उडानको सुनिश्चित भए लुम्बिनीका पर्यटन व्यवसायी र ट्राभल कम्पनी ठूलो लगानी गरेर पनि त्यो जिम्मेवारी लिन तयार रहेको उहाँको दाबी छ ।

लुम्बिनी आउने धेरै विदेशी पर्यटक भारतका बौद्ध तीर्थस्थल पनि भ्रमण गर्न चाहन्छन् तर अहिले भारतको इ-भिसा लिएर आएका तेस्रो मुलुकका पर्यटक बेलहिया नाका हुँदै भारत प्रवेश गर्न नपाउने व्यवस्था रहेको श्रेष्ठ बताउँछन् । यसले बुद्ध सर्किटको अवधारणालाई कमजोर बनाएको उनको भनाइ छ । नेपाल सरकारले भारतसँग उच्चस्तरीय कूटनीतिक पहल गरेर यो समस्या समाधान गर्नुपर्नेमा उनको जोड छ ।

पश्चिम नेपालका हजारौँ युवा हरेक वर्ष वैदेशिक रोजगारीमा जान्छन् तर मेडिकल परीक्षण, श्रम स्वीकृति, बायोमेट्रिक र भिसा प्रक्रियाका लागि उनीहरू अझै काठमाडौं जान बाध्य छन् । भैरहवामै श्रम डेस्क, मेडिकल सेन्टर र प्रमुख मुलुकका भिसा सेन्टर स्थापना गर्न सकियो भने यही क्षेत्रबाट ठूलो संखयामा यात्रु अन्तरराष्ट्रिय उडानमा जोडिनसक्ने उनको विश्वास छ ।

नेपाल उद्योग वाणिज्य महासंघ, लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ पनि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई केबल रुपन्देहीको परियोजना मान्न नहुने बताउँछन् । धनगढी, नेपालगन्ज, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरका नागरिकलाई काठमाडौं पुगेर जहाज चढ्नुभन्दा भैरहवा आउन समय र खर्च दुवै हिसाबले सहज हुन्छ । श्रेष्ठको विचारमा अरुलाई दोष दिनुभन्दा पहिले नेपाल सरकारले आफ्नै दायित्व पूरा गर्नुपर्छ । उनी प्रश्न गर्छन्, ‘सरकारकै स्वामित्वमा रहेको नेपाल एयरलाइन्सले दैनिक एउटा नियमित अन्तरराष्ट्रिय उडान किन सुरु गर्न सक्दैन ?’

उनका अनुसार नेपाल एयरलाइन्स र हिमालयन एयरलाइन्सले नियमित उडान सुरु गरे त्यसले बजारमा सकारात्मक सन्देश जानेछ । त्यसपछि विदेशी एयरलाइन्स पनि भैरहवाप्रति आकर्षित हुन सक्छन् । यदि यात्रु उडान तत्काल विस्तार गर्न कठिन छ भने कार्गो उडानलाई विकल्पका रुपमा अघि बढाउन सकिने सुझाव पनि निजी क्षेत्रले दिएको छ ।

विमानस्थलमा पर्याप्त भौतिक पूर्वाधार, जनशक्ति र सञ्चालन क्षमता रहेका अवस्थामा अन्तरराष्ट्रिय कार्गो सेवा सुरु गर्न सकिए कृषि उत्पादन, औद्योगिक वस्तु र निर्यात व्यापारले नयाँ बजार पाउन सक्छ । भारतसँग प्रत्यक्ष हवाई सम्पर्कलाई विमानस्थलको भविष्यसँग जोडेर हेरिएको छ । नयाँदिल्ली, मुम्बई, कोलकाता, बेङ्गलोर, वाराणसी वा लखनउबाट नियमित उडान सुरु भए भारतीय पर्यटक मात्रै होइन, बौद्ध धर्मावलम्बी, तीर्थयात्री तथा तेस्रो मुलुकका पर्यटक पनि सिधै लुम्बिनी आउन सक्नेछन् । यसले लुम्बिनीसँगै पाल्पा, पोखरा, मुक्तिनाथ र पश्चिम नेपालको पर्यटनलाई पनि प्रत्यक्ष लाभ पुग्नेछ ।

२०२१ सालमा घाँसे हवाई मैदानबाट सुरु भएको यो विमानस्थल २०२३ सालदेखि आन्तरिक विमानस्थलका रुपमा हालको स्थानबाट सञ्चालनमा आएको छ । २०७१ सालमाघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले अन्तरराष्ट्रिय विमानस्थलको शिलान्यास गर्नु भई करिब ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थलको २०७९ जेठ २ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए ।

करिब आठ सय बिघामा फैलिएको गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रन-वे रहेको छ । ‘फोर ई क्याटेगरी’को विमानस्थलमा नवौँ क्याटेगरीको दमकलहरु रहेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सरहको उडान र अवतरण हुनसक्ने यहाँ चार न्यारोबडी र एक वाइडबडी जहाज पार्किङ गर्न सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

    काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...