काठमाडौँ
भारतीय चिया बोर्डले नयाँ सूचना जारी गरेपछि नेपाली चियाको भारत निर्यातमा देखिएको १९ दिनको अवरोध हटेको छ। मे १ देखि लागू गरिएको अनिवार्य परीक्षण नियमका कारण निर्यात ठप्प भएको थियो, जसलाई व्यवसायीहरूले ‘अघोषित नाकाबन्दी’को रूपमा व्याख्या गरेका थिए।
नयाँ व्यवस्थाअनुसार अब भारतभित्र उपभोग हुने चियामा अनिवार्य परीक्षण खुकुलो पारिएको छ भने जोखिम मूल्यांकनका आधारमा मात्र नमुना परीक्षण गरिनेछ। यसअघि प्रत्येक खेप प्रयोगशालामा पठाउनुपर्ने व्यवस्था भएकाले ढिलाइ र निर्यात अवरोध भएको थियो।
अवरोध हटेसँगै बुधबारदेखि नै निर्यात पुनः सुरु हुने अपेक्षा गरिएको छ। यसले करिब ३० हजार नेपाली चिया किसान र उद्योगीलाई राहत मिल्ने अनुमान गरिएको छ। तर दीर्घकालीन समाधानका लागि नेपाल–भारतबीच छुट्टै गुणस्तर प्रमाणीकरण सम्झौता आवश्यक रहेको व्यवसायीहरूको भनाइ छ।