काठमाडौँ
अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले खाडी मुलुकका नेताहरूको विशेष आग्रहपछि इरानमाथि गर्ने भनिएको नियोजित सैन्य आक्रमण तत्कालका लागि स्थगित गरिएको घोषणा गरेका छन्। कतार, साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) का नेताहरूले इरानसँग जारी वार्तालाई ध्यानमा राख्दै आक्रमण रोक्न अनुरोध गरेपछि निर्णय गरिएको हो।
राष्ट्रपति ट्रम्पले ‘ट्रुथ सोसल’ मा विज्ञप्ति जारी गर्दै खाडी क्षेत्रका मित्र राष्ट्रहरूको आग्रहप्रति सम्मान जनाउँदै आक्रमण स्थगित गरिएको स्पष्ट पारेका छन्। उनले इरानसँग आणविक हतियारसम्बन्धी कार्यक्रम पूर्ण रूपमा बन्द हुनुपर्ने अडान दोहोर्याउँदै यदि सहमति नभएमा कडा सैन्य कारबाहीका लागि अमेरिका तयार रहेको चेतावनी पनि दिएका छन्।
यसअघि इरान र संयुक्त राज्य अमेरिकाबीचको वार्ता निष्कर्षविहीन बनेपछि मध्यपूर्वमा तनाव बढेको थियो। तर पछिल्लो निर्णयसँगै तत्कालका लागि सम्भावित सैन्य संघर्ष टरेको र कूटनीतिक वार्तालाई प्राथमिकता दिइएको बताइएको छ।