काठमाडौँ
राष्ट्रियसभाको आजको शून्य समयमा सांसदहरूले देशका विभिन्न समसामयिक समस्या उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद गोमा देवी तिमिल्सिनाले पछिल्लो समय हत्या, हिंसा, लुटपाट र डकैतीजस्ता आपराधिक घटना बढ्दै गएको भन्दै नागरिक सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग आग्रह गर्नुभयो ।
सांसद दुर्गा गुरुङले सुर्खेतमा १३२ केभी प्रसारण लाइन अवरुद्ध हुँदा विद्युत् आपूर्तिमा समस्या आएको उल्लेख गर्दै तत्काल समाधान गर्न सरकारसँग माग गर्नुभयो । उहाँका अनुसार टावर ढलेपछि ३३ केभी लाइनबाट काम चलाइए पनि न्यून भोल्टेजका कारण स्थानीय उपभोक्ताहरू प्रभावित भएका छन् ।
त्यस्तै, सांसद नारायण दत्त मिश्रले न्यायपालिकालाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिनुपर्ने धारणा राख्नुभयो । सांसद भुवन बहादुर सुनारले सुकुम्बासी समस्या समाधानमा ढिलाइ भएको भन्दै छिटो समाधानको आवश्यकता औँल्याउनुभयो । अन्य सांसदहरूले जलविद्युत् आयोजना, विकास निर्माण र समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।