काठमाडौँ।
संविधानविद् विपिन अधिकारीले मुलुकको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसले आफ्नो ऐतिहासिक विरासत र आधारभूत सिद्धान्त बिर्सँदै गएको टिप्पणी गरेका छन्। आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस अब व्यक्तिमा आधारित नभई स्पष्ट नीति र कार्यक्रममा आधारित पार्टीका रूपमा रूपान्तरण हुनुपर्नेमा जोड दिए।
अधिकारीले सिंगापुरको ‘पिपल्स एक्सन पार्टी’ (पीएपी) को उदाहरण दिँदै कुनै पनि राजनीतिक दल सफल हुनका लागि दीर्घकालीन दृष्टिकोण, अनुशासन र व्यावहारिक राजनीति आवश्यक हुने बताए। बीपी कोइरालाको समयमा कांग्रेस एक असाधारण पार्टी रहेको स्मरण गर्दै उनले अहिले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको मर्म हराउँदै गएको तर्क गरे।
"कुनै समय कांग्रेसको एजेन्डामा कृषि र किसान प्राथमिकतामा थिए, तर अहिले 'जोत्नेको जमिन' जस्ता आधारभूत सिद्धान्तहरू हराएका छन्," अधिकारीले भने। उनले पार्टीले भुइँतहका मुद्दाहरूसँगको सम्बन्ध गुमाउँदै गएकोमा चिन्ता व्यक्त गरे।
उनले कांग्रेसलाई दलभित्रै लोकतान्त्रिक अभ्यास मजबुत बनाउन, नेतृत्व हस्तान्तरण प्रक्रियालाई पारदर्शी बनाउन र दोस्रो-तेस्रो पुस्तालाई नेतृत्वका लागि तयार पार्न सुझाव दिए। साथै, न्युजिल्याण्ड, स्विडेन र जर्मनीका राजनीतिक दलहरूबाट गठबन्धन संस्कृति र अनुशासन सिक्नुपर्ने उनको भनाइ थियो। सत्ता केन्द्रित राजनीतिका कारण पार्टीका मूल्यमान्यता कमजोर बनेको भन्दै उनले चुनावी हारलाई पनि गल्ती सुधार्ने अवसरका रूपमा लिनुपर्ने उल्लेख गरे।