काठमाडौँ
स्वास्थ्य क्षेत्रमा स्पष्ट कानुनी व्यवस्था नहुँदा समस्या बढ्दै गएको भन्दै सामाजिक न्याय सुनिश्चित गर्ने गरी नयाँ कानुन बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।
काठमाडौँमा शुक्रबारदेखि सुरु भएको चिकित्सा एवं स्वास्थ्य सेवा कानुनसम्बन्धी तीनदिने सम्मेलनमा सहभागी वक्ताहरूले स्वास्थ्यसम्बन्धी कानुनी स्पष्टता अभावका कारण विभिन्न जटिलता देखिएको बताएका छन्। उनीहरूले बिरामी र चिकित्सक दुवैको सुरक्षा सुनिश्चित हुने गरी कानुन निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए।
कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संविधानले स्वास्थ्यको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा पर्याप्त कानुनी व्यवस्था नभएको बताइन्। उनले बिरामी र चिकित्सक दुवैलाई सुरक्षा कवच दिने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिँदै मेडिकल इन्सुरेन्स प्रणाली स्पष्ट रूपमा निर्धारण गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरिन्।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानाले कानुन जटिल भएकाले आम नागरिकले बुझ्न कठिन भएको भन्दै सरल भाषामा कानुन मस्यौदा गर्ने कामलाई प्राथमिकता दिइएको जानकारी दिए।
नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले स्वास्थ्यकर्मीमाथि हुने दुव्र्यवहार रोक्न कानुनी सुरक्षा आवश्यक रहेको बताए। नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सकहरू डर र त्रासबिना सेवा दिन सक्ने वातावरण बनाउन नयाँ कानुन आवश्यक रहेको धारणा राखे।
सम्मेलनका क्रममा स्वास्थ्य क्षेत्रका विभिन्न समस्यालाई सम्बोधन गर्दै प्रमाणमा आधारित नीति तथा कानुन निर्माण गर्नुपर्ने सुझाव दिइएको छ। आयोजकका अनुसार सम्मेलन आइतबारसम्म सञ्चालन हुनेछ र छलफलका निष्कर्षलाई समेटेर प्रतिवेदन तथा पुस्तक प्रकाशन गरिनेछ।