काठमाडौँ
साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक १ दशमलव ७७ अंक अर्थात् ० दशमलव ०६ प्रतिशतले वृद्धि भएर २ हजार ७ सय ३१ दशमलव ९४ विन्दुमा पुगेको हो।
आज कारोबार भएका १३ उपसूचकमध्ये ७ वटा उपसूचकमा सामान्य वृद्धि हुँदा ६ वटा उपसूचकमा गिरावट देखिएको छ। यद्यपि कुनै पनि उपसूचकमा १ प्रतिशतभन्दा बढी उतारचढाव देखिएन। सेन्सेटिभ इन्डेक्स ० दशमलव ३४ अंकले बढेर ४ सय ६७ दशमलव ५५ मा पुगेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ०४ अंकले वृद्धि भएर १ सय ८५ दशमलव ३५ कायम भएको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स पनि ० दशमलव ०९ अंकले बढेर १ सय ५७ दशमलव ४९ मा पुगेको छ।
शुक्रबार कुल ३ सय ३८ कम्पनीका ७९ लाख ३४ हजारभन्दा बढी कित्ता सेयर किनबेच भएका छन्। ४३ हजार ६ सय ७४ कारोबारमार्फत कुल ३ अर्ब ९ करोड ७९ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ।
आज कारोबार भएका कम्पनीमध्ये १ सय २७ कम्पनीको सेयर मूल्य बढेको छ भने १ सय २० कम्पनीको मूल्य घटेको छ। २२ कम्पनीको मूल्य भने स्थिर रहेको छ।
कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर लिमिटेड शीर्ष स्थानमा रह्यो। कम्पनीको ३० करोड ६६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यस्तै, अपी पावर कम्पनीको ११ करोड ४४ लाख रुपैयाँ र रिलायन्स स्पिनिङ मिल्सको ८ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नबिल डिबेन्चर २०८९ का लगानीकर्ताले सर्वाधिक ७ दशमलव ७१ प्रतिशत नाफा कमाएका छन्। त्यस्तै मोदी इनर्जी लिमिटेड र राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर मूल्य पनि उल्लेख्य रूपमा बढेको छ। यता, यूनियन हाइड्रोपावर र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको सेयर मूल्यमा भने उल्लेख्य गिरावट आएको छ।