काठमाडौँ
प्रतिनिधि सभा बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच अभिव्यक्तिलाई लिएर सवाल–जवाफ भएको छ।
मंगलबारको बैठकमा एमाले संसदीय दलका नेता राम बहादुर थापा (बादल)ले रास्वपालाई ‘अराजकहरूको भीड’ भन्दै टिप्पणी गरेपछि बुधबारको बैठकमा रास्वपा सांसदहरूले आपत्ति जनाएका थिए। उनीहरूले उक्त अभिव्यक्तिलाई संसदीय रेकर्डबाट हटाउन माग गरेका थिए।
रास्वपा सांसद मनिष खनालले सभामुखको ध्यानाकर्षण गराउँदै बादलको अभिव्यक्ति नियमावलीविपरीत भएकाले हटाउनुपर्ने तर्क गरेका थिए। सोही मागअनुसार सभामुखले उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन संसद् सचिवालयलाई रुलिङ गरेका छन्।
सभामुखले प्रतिनिधिसभा नियमावलीको नियम २१ को खण्ड ‘घ’ विपरीतको अभिव्यक्ति भएकाले हटाउन निर्देशन दिएको जनाइएको छ।
यसैबीच, एमालेका प्रमुख सचेतक ऐन महरले सरकारले पटक–पटक संसद्को मर्यादा उल्लङ्घन गरेको आरोप लगाएका छन्। उनले प्रधानमन्त्री संसदमा अनुपस्थित रहेको विषय उठाउँदै सरकार उत्तरदायी नभएको टिप्पणी गरेका छन्। एमाले सांसद गुरु बरालले पनि प्रधानमन्त्रीको अवस्थाबारे सदनलाई स्पष्ट जानकारी दिन माग गरेका छन्।