काठमाडौँ। ३० वैशाख
सुनसरीको इनरुवास्थित शिक्षा खेल मैदानमा सम्पन्न प्रथम कोशीटप्पु खुला महिला राष्ट्रिय कबड्डीप्रतियोगिताको उपाधि सशस्त्र प्रहरीले जितेको छ। फाइनल भिडन्तमा विभागीय प्रतिद्वन्द्वी नेपाल प्रहरीलाई ३ अङ्कको अन्तरले पछि पार्दै सशस्त्रले पहिलो स्थान हासिल गरेको हो।
प्रतियोगितामा कोशी प्रदेशर त्रिभुवन आर्मी क्लब संयुक्त रूपमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। जिल्ला खेलकुद क्लब सुनसरीका अध्यक्ष तरुणकुमार यादवका अनुसार, उपाधि विजेता सशस्त्र प्रहरी बलले १ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ। त्यस्तै, उपविजेता नेपाल प्रहरीले ५० हजार रुपैयाँ र ट्रफी हात पारेको छ। तेस्रो हुने दुवै टोलीले २५–२५ हजार रुपैयाँ, पदक र प्रमाणपत्र प्राप्त गरे।
विजेता खेलाडी तथा टोलीलाई कोसी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री इस्राइल मंसुरीले पुरस्कार तथा ट्रफी वितरण गर्नुभएको थियो। राष्ट्रिय स्तरका महिला कबड्डी खेलाडीहरूको सहभागिता रहेको यस प्रतियोगिताले खेल क्षेत्रको विकासमा थप उर्जा थपेको आयोजकले जनाएको छ।