काठमाडौँ।
विश्व च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान कान्सास सिटी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोलअन्तरले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना अन्तिम चारमा पुगेको हो।
निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अर्जेन्टिनाका लागि १० औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै सुरुवाती अग्रता दिलाए पनि ६७ औँ मिनेटमा स्वीटजरल्यान्डका डान डोयोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। ७२ औँ मिनेटमा ब्रिन एम्बोले रातो कार्ड खाएपछि स्वीटजरल्यान्ड १० खेलाडीमा समेटिएको थियो।
अतिरिक्त समयको ११२ औँ मिनेटमा जुलियन अल्भारेज र इन्ज्युरी समयमा लाउटेरो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे। ७२ वर्षपछि क्वार्टरफाइनल पुगेको स्वीटजरल्यान्डको यात्रा भने यहीँ टुङ्गिएको छ।
अब फाइनल प्रवेशका लागि अर्जेन्टिनाले इंग्ल्यान्डको सामना गर्नेछ। इंग्ल्यान्डले आजै नर्वेलाई २–१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। विश्वकपको अर्को सेमिफाइनलमा फ्रान्स र स्पेन भिड्नेछन्।