काठमाडौँ
बाँकेको कोहलपुर नगरपालिकामा सार्वजनिक तथा सरकारी जग्गामाथि भएको अतिक्रमण हटाउने प्रक्रिया सुरु गरिएको छ। नगरपालिकाले सुकुमबासीका नाममा अतिक्रमण गरी बनाइएका बस्ती हटाउने अभियान अघि बढाएको हो।
नगरप्रमुख पूर्णप्रसाद आचार्यका अनुसार हालसम्म वास्तविक भूमिहीन सुकुमबासीका रूपमा ६० परिवार नगरपालिकाको सम्पर्कमा आएका छन्। उनीहरूलाई अस्थायी रूपमा होल्डिङ सेन्टरमा बसोबासको व्यवस्था गरिएको छ।
वडा नं ११ स्थित कोहलपुर नगर विकास समितिको कोहलपुर ३(ख) क्षेत्रमा करिब ३६ बिघा जग्गा अतिक्रमण गरी ७५१ परिवारले घरटहरा बनाएर बसोबास गर्दै आएको नगरपालिकाले जनाएको छ। तीमध्ये अव्यवस्थित बसोबासी, भूमिहीन दलित र वास्तविक भूमिहीन सुकुमबासी रहेका छन्।
नगरप्रमुख आचार्यका अनुसार बस्ती विकासका क्रममा केही व्यक्ति र बिचौलियाको संलग्नतामा नक्कली कागजात तयार गर्ने, जग्गा किनबेच गर्ने तथा आर्थिक लाभ लिने गतिविधि भएको उजुरीसमेत परेको छ। यस विषयमा सम्बन्धित निकायबाट अनुसन्धान भइरहेको उनले बताए।
नगरपालिकाले वास्तविक भूमिहीन र सुकुमबासीको पहिचानका लागि अभिलेख व्यवस्थापन समिति गठन गरी अध्ययन थालेको छ। समितिले घरधुरीको अवस्था, बसोबास अवधि, आर्थिक स्थिति तथा अन्यत्र जग्गाजमिन रहेको–नरहेकोबारे विवरण संकलन गरिरहेको छ।
समितिकी संयोजक सुनिता सुनारका अनुसार केही व्यक्तिले झुटो रूपमा भूमिहीन दाबी गरे पनि अन्यत्र सम्पत्ति रहेको पाइए त्यस्ता व्यक्तिलाई सूचीबाट हटाइनेछ। गत वर्ष फाराम भरेका ७५१ मध्ये हाल पहिचान गर्दा वास्तविक भूमिहीन दलित र सुकुमबासीको संख्या सीमित रहेको पनि उनले जानकारी दिइन्।