काठमाडौँ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङ राईले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पनि आफ्नो पार्टीमा ल्याउने घोषणा गरेका छन्। हालै माओवादी पृष्ठभूमिका नेता तथा पूर्वमन्त्री सुदन किरातीलाई पार्टीमा भित्र्याएका साम्पाङले अबको निशाना घिसिङ भएको संकेत गरेका हुन्।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट गर्दै साम्पाङले सुदन किराँतीको आगमनबाट डाह गर्नेहरू कुलमान घिसिङलाई ल्याएको दिन ईष्याले ढल्ने टिप्पणी गरे। उनले लेखेका छन्, ‘सुदनजीलाई श्रम संस्कृतिमा स्वागत गर्दा डाह गर्नेहरू कुलमानजीलाई ल्याएको दिन ढल्छन् होला डाह र ईष्याले।’
शुक्रबार मात्रै सुदन किराँतीलाई औपचारिक रूपमा पार्टी प्रवेश गराएका साम्पाङले आफ्नो पार्टीलाई थप शक्तिशाली बनाउन प्रभावशाली व्यक्तित्वहरूलाई समेट्ने अभियान जारी राखेको बताएका छन्। कुलमान घिसिङ हाल उज्यालो नेपाल पार्टीको नेतृत्व गरिरहेका छन्। साम्पाङको यो घोषणाले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु गराएको छ।