काठमाडौँ
साताको दोस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ ।
आज कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा भने सामान्य सक्रियता देखिएको बजार विश्लेषकहरूले बताएका छन् ।
समूहगत रूपमा हेर्दा जलविद्युत समूहमा सबैभन्दा धेरै १.०२ प्रतिशतको वृद्धि भएको छ । बैंकिङ, लगानी तथा जीवन बीमा समूहका सूचकहरूमा पनि हरियाली देखिएको छ । तर ट्रेडिङ, लघुवित्त र फाइनान्स समूहका सूचकहरू भने सामान्य रूपमा घटेका छन् ।
कारोबार रकमका आधारमा आज सोलु हाइड्रोपावर २३ करोड ५७ लाख रुपैयाँसहित शीर्ष स्थानमा रहेको छ । बजारमा अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्, जसको सेयर मूल्य ११.१६ प्रतिशतले बढेको छ ।
त्यसैगरी फरवार्ड माइक्रोफाइनान्सको सेयर मूल्य ९.३१ प्रतिशतले घटेको छ । कुल कारोबारमध्ये १६२ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।