काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना जनप्रतिनिधिहरूका लागि दोस्रो चरणको प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। बजेट अधिवेशनलाई अझ प्रभावकारी बनाउन यो प्रशिक्षण आयोजना गरिएको पार्टीले जनाएको छ।
पार्टीका सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार वैशाख २६ र २७ गते सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा प्रशिक्षण कार्यक्रम हुनेछ। यसअघि पहिलो चरणको आवासीय प्रशिक्षण ललितपुरको ग्वार्कोमा सम्पन्न गरिएको थियो।
पहिलो चरणको प्रशिक्षणमा विषयविज्ञ तथा पार्टीका शीर्ष नेताहरूले जनप्रतिनिधिलाई राजनीतिक, संवैधानिक र कानुनी विषयमा प्रशिक्षण दिएका थिए। सो क्रममा केही नेताहरूको अनुपस्थितिलाई लिएर आलोचना पनि भएको थियो।
गत फागुनको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो। धेरै जनप्रतिनिधि राजनीतिक र कानुनी ज्ञानमा नयाँ भएकाले यस्ता प्रशिक्षणले संसदीय काममा प्रभावकारिता बढ्ने विश्वास पार्टीले व्यक्त गरेको छ।