काठमाडौँ
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सोमबारको कारोबारमा ३९.२७ अंक (१.४३ प्रतिशत) ले घट्दै २६९९.४४ विन्दुमा झरेको छ। साताको पहिलो कारोबार दिन नै बजारमा गिरावट देखिँदा लगानीकर्तामा निराशा बढेको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार घटेर ४ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ। दिनभर कुल ९५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ।
कारोबार भएका २६९ कम्पनीमध्ये १७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्य घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर शीर्ष स्थानमा रह्यो। माइक्रोफाइनान्स समूहबाहेक सबै उपसमूहमा गिरावट देखिएको छ, जसमा विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक क्षेत्रमा २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।