काठमाडौँ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले उद्योगी–व्यवसायीहरूलाई नडराई लगानी गर्न आग्रह गर्दै सरकारले निजी क्षेत्रलाई दुःख नदिने स्पष्ट पारेका छन्।
आइतबार काठमाडौँमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिहरूसँगको छलफलमा उनले निजी क्षेत्र सरकारप्रति सशंकित देखिएको भन्दै त्यसलाई हटाउन आफू प्रत्यक्ष संवादमा बसेको बताए। उनले व्यवसायीहरूलाई आत्तिनु नपर्ने र सरकारले उनीहरूको हितमा काम गर्ने विश्वास दिलाए।
लामिछानेले केही सीमित समूहले अर्थतन्त्रलाई नियन्त्रण गर्न खोजेकाले सरकार सुशासन र आर्थिक सुधारको दिशामा कडाइका साथ अघि बढेको उल्लेख गरे। उनले धरपकडका विषयमा स्पष्ट पार्दै इमानदार व्यवसायीहरूलाई त्रसित नहुन आग्रह गरे भने आर्थिक अनुशासन कायम गर्न आवश्यक कदम चालिएको बताए।
उनले निजी क्षेत्रका समस्या समाधानका लागि स्पष्ट रोडम्याप तयार पारिएको जानकारी दिँदै अब व्यवसायीहरूले नेताको ढोका धाउनुपर्ने अवस्था अन्त्य गरिने बताए। राज्यको नीति र प्रणालीमार्फत नै समस्या समाधान हुने उनको भनाइ थियो।
कार्यक्रममा उनले सुकुम्बासी व्यवस्थापनका विषयमा पनि धारणा राख्दै सरकारले कुनै पनि नागरिकलाई घरबारविहीन नबनाउने प्रतिबद्धता जनाए। जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी दीर्घकालीन समाधान गर्ने सरकारको योजना रहेको उनले बताए।
छलफलमा निजी क्षेत्रका प्रतिनिधिहरूले पनि आफ्ना चासो र सुझाव राखेका थिए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई सहज वातावरण आवश्यक रहेको बताए भने नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले पुँजी निर्माण बढाउन सरकारको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरे। नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपक मलहोत्राले वर्तमान सरकारसँग आर्थिक सुधार र विकास निर्माणमा ठूलो अपेक्षा रहेको बताए।