काठमाडौँ
नेपाल कम्युनिष्ट पार्टी (एमाले) भित्र नेतृत्व परिवर्तन र पार्टी रूपान्तरणको माग गर्दै युवा नेताहरूले ‘पुनर्जागरण भेला’ आयोजना गरेका छन्। शनिबार मीनभवनमा आयोजित भेलाबाट उनीहरूले वर्तमान अध्यक्ष केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने निष्कर्ष निकालेका हुन्।
करिब चार घण्टासम्म चलेको उक्त भेलामा केन्द्रीय सदस्य झपट रावल, नरेश रोकाया, समिक बडालसहित करिब १३० जना नेता–कार्यकर्ताको सहभागिता रहेको थियो। सहभागीहरूले हालैको चुनावी परिणामका लागि वर्तमान नेतृत्वको कार्यशैली र कमजोरी जिम्मेवार रहेको ठहर गरेका छन्।
भेलामा युवाहरूले पार्टीभित्र आफूहरूको भूमिकालाई जानाजान ओझेलमा पारिएको, सक्षम व्यक्तिहरूलाई गुटबन्दीको आरोप लगाएर जिम्मेवारीबाट वञ्चित गरिएको आरोप लगाए। उनीहरूले अध्यक्ष केन्द्रित नेतृत्वले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाएको र विचार विमर्शको वातावरण खुम्चिएको दाबी गरेका छन्।
एमालेकी पूर्व केन्द्रीय सदस्य नवीना लामाले पार्टी रूपान्तरण अब अनिवार्य भइसकेको उल्लेख गर्दै विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन आवश्यक रहेको बताइन्। अनेरास्ववियुका उपमहासचिव कमल जोशीले पनि वर्तमान नेतृत्वबाट पार्टीलाई सही दिशामा लैजान नसकिने भन्दै नेतृत्व परिवर्तनको माग सशक्त रूपमा उठाइने बताए।
भेलाले सातै प्रदेशमा पार्टी पुनर्जागरण र पुस्तान्तरणका पक्षमा देशव्यापी अभियान सञ्चालन गर्ने तथा विशेष महाधिवेशनका लागि हस्ताक्षर सङ्कलन तीव्र बनाउने निर्णय गरेको छ। साथै, पूर्व केन्द्रीय सदस्य रमेश पौडेल, सुजन कडरिया, गजेन्द्र थपलिया र उपेन्द्र शाहीलगायतले पार्टीभित्र आन्तरिक लोकतन्त्र कमजोर भएको भन्दै आलोचना गरेका छन्।