काठमाडौँ
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले काठमाडौँ महानगरपालिकाका सुकुमबासी बस्तीहरूको अवस्थाबारे चिन्ता व्यक्त गर्दै पुनर्स्थापनाको व्यवस्था नगरी बस्ती भत्काउनु उचित नहुने बताएका छन्। बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले डोजर चलाएको थापाथली, सिनामंगल र भक्तपुरको मनहरा क्षेत्रको अवलोकनपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।
भट्टराईले आफू र पूर्वमन्त्री हिसिला यमीसहितको टोलीले कीर्तिपुरस्थित राधास्वामी होल्डिङ सेन्टर तथा नयाँ बसपार्क नजिकका होटल र लजहरूमा राखिएका सुकुमबासीसँग भेटघाट गरेको जानकारी दिएका छन्। साथै, आफ्नै कार्यकालमा निर्माण गरिएको नागार्जुनको इचंगुनारायणस्थित पुनर्स्थापना अपार्टमेन्टहरूको पनि अवलोकन गरिएको उनले बताए।
सुकुमबासीसँगको संवादपछि उनले केहीमा सरकारप्रति आशा देखिए पनि धेरैमा डर, त्रास र अनिश्चितता रहेको अनुभव साझा गरेका छन्। नयाँ सरकार बनेको समयमा नै सहरी गरिब र श्रमिक वर्गमा यस्तो भय देखिनु राज्यप्रति विश्वास घट्नुको संकेत भएको उनको भनाइ छ।
भट्टराईका अनुसार कतिपय सुकुमबासीले नाम दर्ता गर्दा आफ्नै भएको सम्पत्ति गुम्ने डर व्यक्त गरेका छन् भने छोटो सूचना दिएर टहरा भत्काउँदा सामानसमेत जोगाउन नसकेको पीडादायी अवस्था देखिएको छ।
उनले सरकारले पहिले पुनर्स्थापनाको स्पष्ट योजना ल्याउनुपर्ने र त्यसपछि मात्र बस्ती व्यवस्थापनतर्फ अघि बढ्नुपर्ने सुझाव दिएका छन्। ‘अहिलेसम्म जे भयो भयो, अब बाँकी स्थानमा भने पुनर्स्थापनाको व्यवस्था गरेर मात्र सुकुमबासी बस्ती हटाउनुपर्छ,’ भट्टराईले भनेका छन्।