काठमाडौँ
नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीले पार्टीको पराजयको मुख्य कारण जनतासमक्ष आफ्ना एजेन्डा र कार्यदिशा स्पष्ट रूपमा प्रस्तुत गर्न नसक्नु भएको बताएका छन्। उनले पार्टी आन्तरिक विवाद र संगठनात्मक कमजोरीका कारण पनि कमजोर बनेको स्वीकार गरे।
चौधरीका अनुसार जनतामा परिवर्तनको तीव्र आकांक्षा हुँदा पनि पार्टीले त्यो भावना बुझेर प्रभावकारी रूपमा सन्देश दिन नसकेको कारण चुनावी नतिजा कमजोर आएको हो। उनले अन्य नयाँ शक्तिहरूले जस्तै “बालेन शैली”मा जनतासँग जोडिन नसक्दा मतदाता आकर्षित गर्न नसकिएको बताए।
उनले पार्टी गठन भएदेखि नै आन्तरिक द्वन्द्व र स्वार्थका कारण संगठन सुदृढ हुन नसकेको उल्लेख गर्दै त्यसले पनि पराजयमा ठूलो भूमिका खेलेको बताए। उनका अनुसार नागरिक उन्मुक्ति पार्टीको आफ्नै एजेन्डा र पहिचान भए पनि त्यसलाई जनतामाझ पुर्याउन कमजोरी भएको छ।
चौधरीले अब पुराना नेताहरूले अभिभावकको भूमिकामा बस्दै नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने आवश्यकता औंल्याए। उनले जेनजी पुस्ताको माग र सोचलाई आत्मसात् नगरे राजनीतिक दलहरू फेरि पनि असफल हुने चेतावनी दिए।
उनले आगामी चुनावका लागि नयाँ रणनीति तयार भइरहेको जानकारी दिँदै अबको राजनीतिक दिशा जनताको परिवर्तन चाहनासँग जोडिनुपर्ने बताए। साथै, तराई–मधेसका दलहरूबीच एकीकृत शक्ति निर्माणको प्रयास भइरहेको भए पनि नेतृत्व हस्तान्तरणमा अनिच्छा देखिएको भन्दै चिन्ता व्यक्त गरे।
चौधरीले वर्तमान सरकारप्रति पनि टिप्पणी गर्दै जनताको आकांक्षा पूरा गर्न सुशासन र विकासमा ध्यान दिनुपर्ने बताए। उनले जनताको अपेक्षा पूरा गर्न नसके फेरि असन्तोष बढ्ने चेतावनीसमेत दिए।