काठमाडौँ
जनता समाजवादी पार्टी, नेपालका नेता सर्वेन्द्रनाथ शुक्लाले पछिल्लो निर्वाचनमा मधेसवादी दलहरू कमजोर बन्नुको मुख्य कारण परिवर्तनलाई आत्मसात् गर्न नसक्नु रहेको बताएका छन्। रुपन्देही–४ बाट चुनाव लडेका उनी फागुन २१ गतेको निर्वाचनमा ३ हजार ४१० मतसहित चौथो स्थानमा पराजित भएका थिए।
शुक्लाका अनुसार समाजले विचार, नेतृत्व र कार्यशैलीमा परिवर्तन खोजिरहेका बेला मधेसवादी दलहरूले पुरानै नीति र नेतृत्वलाई निरन्तरता दिएका कारण जनसमर्थन गुमेको हो। उनले ‘जेनजी आन्दोलन’ले दिएको सन्देश सबैका लागि भए पनि त्यसलाई समयमै बुझ्न नसक्दा दलहरू कमजोर बनेको बताए।
उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले मधेसी अनुहारलाई अगाडि सार्दा त्यसले मतदातामा भावनात्मक प्रभाव पारेको पनि उल्लेख गरे। मधेसमा भावनाको राजनीति प्रभावशाली हुने भएकाले अन्य दलका काम र नेतृत्व ओझेलमा परेको उनको भनाइ छ।
शुक्लाले पार्टीभित्रको कमजोरी स्वीकार गर्दै नेतृत्व र संगठनमा समयअनुसार परिवर्तन गर्न नसक्नु ठूलो त्रुटि भएको बताए। उनले अब पुराना नेताहरू संरक्षकको भूमिकामा बस्दै नयाँ पुस्तालाई नेतृत्व सुम्पनुपर्ने आवश्यकता औंल्याए।
उनले एक वर्षभित्र हुने स्थानीय र प्रदेश तहका निर्वाचनलाई लक्षित गर्दै दलहरूले आत्मसमीक्षा गरी नयाँ नेतृत्व स्थापित गर्नुपर्ने बताए। साथै, मधेस केन्द्रित दलहरूबीच एकता गरी बृहत् शक्ति निर्माण गर्नुपर्नेमा उनले जोड दिए।
सरकारप्रति अपेक्षा व्यक्त गर्दै शुक्लाले सामाजिक सञ्जालको प्रभावबाट मात्रै होइन, स्थिरता र सुशासनमार्फत जनताको विश्वास जित्नुपर्ने बताए। उनले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे।