काठमाडौँ
कास्की प्रहरीले केही समयअघि उत्कृष्ट प्रहरीका रूपमा सम्मान गरेका एक जना वरिष्ठ हवलदार घुससहित पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान शाखामा कार्यरत वरिष्ठ हवलदार विष्णु थापा क्षेत्रीलाई लागू औषधसम्बन्धी मुद्दा मिलाइदिने भन्दै घुस लिएको आरोपमा नियन्त्रणमा लिइएको हो।
थापा २०८१ पुस महिनामा उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित भएका थिए। सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण जस्ता गम्भीर मुद्दाहरूको अनुसन्धानमा उल्लेखनीय योगदान दिएको भन्दै उनलाई सम्मान गरिएको थियो। उनी इमानदार, कर्तव्यनिष्ठ र व्यावसायिक दक्षताका साथ काम गर्ने प्रहरीका रूपमा प्रशंसित थिए।
तर, शनिबार साँझ उनले सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घुस मागेको आरोप लागेको छ। स्रोतका अनुसार उनले तीन लाख रुपैयाँमा ‘डिल’ गरेकोमा प्रारम्भिक रूपमा ५० हजार रुपैयाँ लिँदै गर्दा रंगेहात पक्राउ परेका हुन्। उनलाई सोही रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको हो।
सेवाग्राहीहरूले थापामाथि यसअघि पनि फाइल लुकाउने, अनावश्यक दुःख दिने र बार्गेनिङ गर्ने जस्ता आरोप लगाएका छन्। उनीविरुद्ध अख्तियार, राष्ट्रिय सतर्कता केन्द्र, मुख्यमन्त्री कार्यालय र प्रधानमन्त्री कार्यालयमा समेत उजुरी परेको बताइएको छ।
थापा दरबन्दीअनुसार प्रहरी चौकी अरुणखोलामा भए पनि काज सरुवामा कास्कीमा कार्यरत थिए र लामो समयदेखि मुद्दा फाँटमा बसेर काम गर्दै आएका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार कार्यालय पोखराले जनाएको छ।