काठमाडौँ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले राप्रपा राजाको पार्टी नभई राजसंस्था मान्नेहरूको प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति भएको बताएका छन्। उनले राप्रपा सम्वर्द्धनवादी विचार बोकेको पार्टी भएको उल्लेख गर्दै राजसंस्था कुनै एक पार्टी, संगठन वा विचारमा सीमित नहुने धारणा व्यक्त गरे।
तनहुँमा आयोजित गण्डकी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै लिङ्देनले राप्रपालाई राजाको दल भनेर प्रचार गर्नु गलत रहेको बताए। उनले यस्तो प्रचार गर्नेहरू वास्तवमा राजसंस्थाप्रति सकारात्मक नभएको आरोप लगाए।
निर्वाचनअघि पूर्वराजाको सम्बोधनपछि राप्रपा चुनावमा सहभागी हुनु गल्ती भएको भन्ने टिप्पणीप्रति प्रतिक्रिया दिँदै उनले पार्टी निर्वाचनमा नगएको भए संसदमा राजसंस्थाको विषय उठ्ने अवस्था नै नहुने बताए। उनले संसदमा राजसंस्थाको एजेन्डा उठिरहेको छ भने त्यसमा राप्रपाको भूमिका प्रमुख रहेको दाबी गरे।
पार्टीभित्रको आन्तरिक विवादबारे बोल्दै लिङ्देनले चुनावअघि सबैलाई समेटेर लैजाने प्रयास गर्दा केही नेताकार्यकर्ताले अनुशासन उल्लंघन गरेको बताए। उनले अब पार्टीमा अनुशासन कायम गर्न कारबाही प्रक्रिया सुरु गरिएको स्पष्ट पारे।