काठमाडौँ
कालिगण्डकी नदी मा बगाउँदा एक बालकको मृत्यु भएको छ। जिल्लाको बारागुङ मुक्तिक्षेत्र–४ कागबेनी स्थित श्राद्धस्थल नजिक आठ वर्षीय बरुण गौलीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५ निवासी विमला गौलीसहित १२ जनाको टोली श्राद्ध गर्न कागबेनी पुगेको थियो। सोही क्रममा दिवङ्गत पितृको नाममा श्राद्ध गरिरहँदा बरुण अचानक नदीमा बेपत्ता भएका थिए।
बालक हराएको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी कागबेनीबाट ४ जना, जिल्ला प्रहरी कार्यालयबाट ५ जना तथा सशस्त्र प्रहरी बल नेपाल, ३३ गुल्म हेडक्वाटर जोमसोमबाट ११ जनाको टोलीले खोजी अभियान सुरु गरेको थियो।
खोजीका क्रममा श्राद्धस्थलदेखि करिब एक किलोमिटर दक्षिणतर्फ नदी किनारामा बालक अचेत अवस्थामा फेला परेका थिए। उनलाई उपचारका लागि प्रदेश अस्पताल जोमसोम लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिएका छन्।