काठमाडौँ
इरानस्थित भारतीय दूतावासले बढ्दो क्षेत्रीय तनावका कारण आफ्ना नागरिकहरूलाई इरानको यात्रा नगर्न आग्रह गर्दै नयाँ सूचना जारी गरेको छ।
दूतावासले सामाजिक सञ्जाल एक्समार्फत कुनै पनि परिस्थितिमा इरान यात्रा नगर्न भारतीय नागरिकहरूलाई अनुरोध गरेको छ। साथै, हाल इरानमा रहेका नागरिकहरूलाई आवश्यक समन्वय गरी सुरक्षित रूपमा स्वदेश फर्कन सल्लाह दिएको छ।
हालै भारत र इरानबीच केही उडानहरू पुनः सुरु भएको रिपोर्ट आए पनि परिस्थिती सहज नभएसम्म यात्रा नगर्न आग्रह गरिएको छ। क्षेत्रीय तनावका कारण हवाई क्षेत्र प्रतिबन्ध र अन्य अनिश्चितताले अन्तर्राष्ट्रिय उडानमा असर पारेको दूतावासले जनाएको छ।
यसअघि पनि अप्रिल ८ मा दूतावासले यस्तै सूचना जारी गर्दै भारतीय नागरिकहरूलाई इरान छोड्न आग्रह गरेको थियो। दूतावासले यात्रा गर्नु अघि आवश्यक समन्वय गर्न पनि सुझाव दिएको छ।
मध्यपूर्वमा देखिएको पछिल्लो अवस्थाबारे बोल्दै भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव असीम आर. महाजनले फेब्रुअरी २८ पछि यस क्षेत्रबाट करिब १२ लाख १२ हजार यात्रु भारत फर्किएको जानकारी दिएका छन्।