काठमाडौँ
सङ्घीय संसद्का सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले संविधान संशोधनका लागि ९ बुँदे सुझाव सार्वजनिक गरेका छन्। बिहीबार सार्वजनिक गरिएको प्रस्तावमा शासन व्यवस्था र समावेशितामा आमूल परिवर्तनको आवश्यकता औंल्याइएको छ।
उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख (राष्ट्रपति) रहने व्यवस्था हुनुपर्ने मुख्य प्रस्ताव अघि सारेका छन्। प्रस्तावअनुसार कार्यकारी प्रमुखले संसद् बाहिरका दक्ष व्यक्तिहरूलाई समेत समेटेर मन्त्रिपरिषद् गठन गर्न सक्ने व्यवस्था हुनुपर्ने उल्लेख गरिएको छ। साथै, मन्त्रिपरिषद् गठन गर्दा सबै जाति, समुदाय र लिङ्गको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ।
व्यवस्थापिकाको भूमिकाबारे उनले संसद्को काम कानुन निर्माण र सरकारको अनुगमन तथा मूल्याङ्कनमा सीमित हुनुपर्ने बताएका छन्। कार्यकारी प्रमुखको अधिकार सीमित गर्न र निरंकुशता देखिएमा महाभियोगमार्फत पदमुक्त गर्न सकिने व्यवस्था हुनुपर्ने प्रस्तावमा उल्लेख छ।
यसका साथै, राज्यका सबै निकायहरूमा पूर्ण समावेशीता सुनिश्चित गर्नुपर्नेमा उनले जोड दिएका छन्। नेपाली सेना, नेपाल प्रहरी तथा सरकारी कर्मचारीतन्त्रमा सबै समुदायको समान सहभागिता हुनुपर्ने उनको प्रस्तावमा उल्लेख गरिएको छ।
