काठमाडौँ
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ। सूचक २.९५ अङ्कले घटेर २८०४.१७ विन्दुमा पुगेर बन्द भएको हो।
बजार घटे पनि कारोबार रकम भने उल्लेखनीय रूपमा बढेको छ। दिनभरिमा ३४२ कम्पनीका १ करोड ७५ लाख कित्ता सेयर किनबेच हुँदा कुल ७ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
आज केही कम्पनीहरूको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पाल्पा सिमेन्टको मूल्य १५ प्रतिशतले बढ्दा सूर्यकुण्ड हाइड्रोपावर र शिखर पावर डेभलपमेन्टको मूल्यमा १४.९९ प्रतिशतले वृद्धि भएको छ। झापा इनर्जीका लगानीकर्ताले १४.०८ प्रतिशत नाफा कमाएका छन् भने होटल फरेस्ट इनको मूल्यमा सबैभन्दा धेरै १०.७५ प्रतिशतले गिरावट आएको छ।
समूहगत रूपमा होटल तथा टुरिजम समूहमा २.३६ प्रतिशत र ट्रेडिङ समूहमा १.१० प्रतिशतले गिरावट देखिएको छ। अन्य समूहमा भने उल्लेखनीय उतारचढाव देखिएको छैन।
कारोबार रकमका आधारमा नेशनल हाइड्रोपावर अगाडि रहँदा यसको ४१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स र सोलु हाइड्रोपावर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।
आज कुल ३४२ कम्पनीको कारोबारमध्ये १२१ कम्पनीको सेयर मूल्य बढेको, १३८ कम्पनीको घटेको र १० कम्पनीको मूल्य स्थिर रहेको देखिएको छ।