काठमाडौँ
नेता सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नीति र दोहोरो मापदण्डमाथि कडा प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै उनले पार्टीले अघि सारेको ‘राइट टु रिकल’ नीतिको व्यवहारिकता र निष्पक्षतामाथि प्रश्न उठाएका हुन्।
किरातीले रास्वपाले चुनावका बेला जोड दिएको ‘फिर्ता बोलाउने अधिकार’ सबै नेतामा समान रूपमा लागू हुन्छ कि हुँदैन भन्दै प्रश्न गरेका छन्। उनले पूर्व श्रममन्त्री दीपककुमार साहलाई तत्काल पदबाट हटाइएको प्रसङ्ग उल्लेख गर्दै, गृहमन्त्रीको हकमा त्यही नियम लागू हुन्छ कि हुँदैन भनेर प्रश्न गरेका छन्।
उनले कानुन र नैतिकताको मापदण्ड व्यक्ति अनुसार फरक रूपमा प्रयोग भइरहेको भन्दै व्यङ्ग्यात्मक टिप्पणी पनि गरेका छन्। गृहमन्त्रीको प्रसङ्ग जोड्दै उनले “जुङ्गा कत्रो छ?” भन्ने अभिव्यक्ति प्रयोग गर्दै शक्ति र प्रभावका आधारमा निर्णय हुने गरेको संकेत गरेका छन्।
किरातीले रास्वपालाई नैतिकता र संस्कारको कुरा गर्ने हो भने निष्पक्ष छानबिनको माग गर्न चुनौती पनि दिएका छन्। साथै, नयाँ राजनीतिक शक्तिको दाबी गर्ने दलले व्यवहारमा पारदर्शिता र समानता देखाउनुपर्ने उनको भनाइ छ।