काठमाडौँ
नेपाली बजारमा केराको चरम अभाव देखिएको छ। अभाव बढेसँगै कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले केरालाई दैनिक मूल्यसूचीबाट हटाएको छ।
व्यवसायीहरूका अनुसार भारतीय नाकाबाट अवैध रूपमा आउने केरा रोकिएपछि बजारमा आपूर्ति घटेको हो। केही समयअघि भारतीय केरा ठूलो मात्रामा भित्रिने गरे पनि हाल त्यस्ता आयातमा रोक लागेपछि स्वदेशी उत्पादनले माग धान्न नसकेको उनीहरूको भनाइ छ।
नेपाल फलफूल थोक व्यवसायी सङ्घका अध्यक्ष अमर बानियाँले बजारमा देखिएको मूल्यवृद्धि कृत्रिम नभई आपूर्ति अभावका कारण भएको बताए। उनका अनुसार अवैध आयात रोकिएपछि बजारमा अचानक केरा कमी भएको हो। अहिले कतिपय स्थानमा केरा प्रतिदर्जन ३०० देखि ३५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ।
किसानहरूले भने आफूहरूले उत्पादन गरेको केरा ५० देखि ८० रुपैयाँ प्रतिदर्जनमै बजार पठाउने गरेको दाबी गर्दै बीचका व्यवसायीले मूल्य बढाएको आरोप लगाएका छन्। तर व्यवसायीहरूले भने गुणस्तरीय उत्पादन र ग्रेडिङको अभावका कारण समस्या आएको बताउँछन्।
व्यवसायी संघका अनुसार नेपालमा केरा उत्पादनले आन्तरिक मागको करिब ३० प्रतिशत मात्र धान्न सक्ने अवस्था छ, जबकि सरकारले ८० प्रतिशत आत्मनिर्भरता दाबी गर्दै आएको छ। सीमावर्ती क्षेत्रबाट हुने अनियन्त्रित आयात र कमजोर अनुगमन पनि समस्याको कारण रहेको उनीहरूको भनाइ छ।
सरकारले किसान र व्यवसायीबीच समन्वय गर्न नसकेको आरोप लगाउँदै व्यवसायीहरूले नीति सुधार र उत्पादन वृद्धि गर्नुपर्ने सुझाव दिएका छन्।