काठमाडौँ
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले पहिलो चरणमा आइपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले वैशाख १७ गतेदेखि स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री खुला गर्ने जनाएको छ।
कम्पनीले आफ्नो कुल ८६ करोड रुपैयाँ जारी पूँजीको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्ने अनुमति पाएको छ। यसअन्तर्गत सोलुखुम्बुस्थित सोलुदुधकुण्ड नगरपालिकाका बासिन्दाका लागि ८ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ।
त्यसमध्ये अति प्रभावित क्षेत्र वडा नं. १ र २ का लागि ३ लाख ४४ हजार कित्ता तथा बाँकी ५ लाख १६ हजार कित्ता नगरपालिकाका अन्य वडाका बासिन्दाका लागि वितरण गरिनेछ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ। उनीहरूले प्रतिकित्ता १०० रुपैयाँका दरले लगानी गर्न सक्नेछन्।
आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले वैशाख २३ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सक्नेछन् भने स्थानीय बासिन्दाका लागि वैशाख ३१ देखि जेठ १८ गतेसम्म आवेदन खुला रहनेछ।